मन्थन बिचारहरुको

सन्तान जन्मिएपछि किन यौनेच्छामा फरक पर्छ ?

कतिपय शारीरिक वा मानसिक कारणले शिशुको जन्मपछि दम्पतीको यौनजीवनमा वा भनौं यौन क्रियाकलापमा नकारात्मक प्रभाव परिरहेको हुनसक्छ । शारीरीक कारणमा थकान, स्तनको भारीपन, पीडाजस्ता कारण प्रमुख हुन्छन् भने मानसिक वा भावनात्मक कुरामा शरीरको विम्ब, निराशाजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ । शिशुको जन्म आफैंमा सुखद पक्ष भए पनि शिशु जन्मिएका सुरुका महिनाहरू तनावमूक्त भने हुँदैनन् । यसबेला आफैंमा बाझिने किसिमका भावनाहरू आउन सक्छन् ।

प्रसवको तुरुन्तैपछिको थकाइ मात्र होइन, शिशुको हेरचाहको जिम्मेवारी प्राकृतिक रूपमै छ भने सुत्केरी अवस्थामा नै पनि 'बुहारी' महिलाले कतिपय घरेलु कार्यमा लाग्नुपर्ने हुन्छ । अर्को कुरा, गर्भावस्था नै सुरु भए पनि सुत्केरी अवस्थामा स्तनहरू भारी हुनुका साथै केही पीडा पनि हुनसक्छ । यस्तो बेलामा महिलाको स्तनको स्पर्शप्रतिको प्रतिक्रिया पनि फरक हुनसक्छ । प्रसवको बेलामा योनिद्वार ठूलो बनाउने शल्यक्रिया वा शिशु निस्कने क्रममा योनि वा भगक्षेत्रमा लागेको चोटपटकले होस् वा शल्यक्रिया वा च्यातिएको सिलाउँदाको टाँका होस्, पीडाको कारण हुनसक्छ । शल्यक्रिया गरेर शिशु जन्माइएको स्थितिमा पनि पेट चिरेको स्थानको घाउमा पीडा हुनसक्छ । तपाईंकी श्रीमतीको सन्दर्भमा यी कुरा लागू भएन ।