मन्थन बिचारहरुको

अदालतको ढोकामा पतिको पर्खाइ

Picture
काठमाडौ, अषाढ ३१ -  इजलास बाहिर उनी दिनभरिजसो पर्खिबसिन् । सर्वोच्च अदालतले बुधबार सुनाउन लागेको फैसला सुन्न आतुर ती युवतीलाई पर्खंदै अदालतमा धुइरिएका फोटो पत्रकार र टेलिभिजनका क्यामेराम्यान बाहिर उस्तै छटपटीसाथ बसिरहेका थिए । छैसट्ठी बर्षीय पति चाल्र्स शोभराजको रिहाइको आस गरेर सर्वोच्चमा धाइरहेकी २२ बर्षीया निहिता विश्वासका लागि त्यो क्षण असाध्यै मूल्यवान थियो । किनभने काठमाडौं जिल्ला अदालतको फैसलाबाट २८ साउन २०६१ मा जन्मकैदको सजाय पाएका शोभराजबारे मुद्दा पुनरावेदनले सदर गरेको थियो ।  सर्वोच्चले गर्ने अन्तिम फैसलामा छुट्ने आस थियो उनमा । फैसला शोभराजको पक्षमा भए निहिताले बिहेको अढाइ वर्षपछि पतिसँग बस्न पाउने थिइन् । उनको यही भावभंगिमा बुझ्न, फैसला सुन्न र निहिताको प्रतिक्रिया माग्न सर्वोच्चमा थुप्रै पत्रकार क्यामेरासहित झुम्मिएका थिए । निहिता भने दुई युवाको ओझेल परेर इजलास बाहिर फैसला सुन्न बसिरहेकी थिइन् । उनले दिनभर कुर्दा पनि फैसला सुन्ने समय आएन । 'हामीले फैसलाको पूर्ण पाठ तयार गर्न भ्याएनौं,' न्यायाधीश रामकुमारप्रसाद शाहले भने, 'वकिलहरूले दिएको बहस नोट र अरू कागजातको अध्ययनै गरिसकिएको छैन ।' त्यो छिट्टै सकेर साउन १४ गते निर्णय सुनाउने उनको कुरो सुन्दा निहिताको अनुहार मलिन देखियो । 'अझै आस मरेको छैन,' अंग्रेजी र राजनीतिशास्त्रमा स्नातक दोस्रो वर्षकी छात्रा निहिताले भनिन्, 'मेरा पति निर्दोष छन् र अदालतले त्यो बुझेको होला भन्ने विश्वास गर्छु ।' पत्रकारसँग बोल्न मन पर्दैन भन्दाभन्दै पनि निहिताले संवाददातासँग धेरै कुरा गरिन् । 'म आफ्नै हातले बिरियानी बनाउँछु र लगेर चाल्र्सलाई खुवाउँछु,' उनी मुस्कुराइन्, 'हाम्रो बिहेपछि गएको वर्ष त ऊ मोटाएको पनि थियो ।' केन्द्रीय कारागारमा उनी प्रायः पतिलाई भेट्न गइरहँदी रहिछन् । थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र नेपालमा गरी १२ भन्दा बढी शृंखलाबद्ध हत्या गरेको अभियोग लागेका चाल्र्ससँगको आफ्नो बिहे अस्वाभाविक भनेर मानिसले टिप्पणी गरेको कुरो उनलाई फिटिक्कै मन पर्दैन । 'यो असाध्यै स्वाभाविक हो, मायामा उमेरको कुरो हुँदैन,' उनले भनिन्, 'चाल्र्स चामत्कारिक छवि भएको विश्व प्रसिद्ध मान्छे हो र ऊ निर्दाेष छ ।' फ्रान्सेली राजधानी पेरिसमा चाल्र्सका एक दाजु, एक भाइ, आमा र पुणेमा दुई दिदी छन् । तीमध्ये दिदीलाई आफूले भेटेको निहिताले बताइन् । चाल्र्ससँगको भेटमा सिनेमा, पुस्तक र आफ्नै जीवनबारे कुराकानी हुने गरेको भन्दै निहिताले भनिन्, 'म प्रायः उसलाई जोक सुनाएर हँसाउने पनि गर्छु ।' पत्नीसँग अंग्रेजीमा कुराकानी गर्ने चाल्र्सलाई नेपालीमा भन्न आउने एउटै शब्द रहेछ, 'नानु' जुन उनी निहितालाई बोलाउँदा प्रयोग गर्छन् । उनीचाहिँ चाल्र्सलाई के भन्छिन् ? 'त्योचाहिँ भन्दिन' भन्दै उनी साउन १४ गते फर्किने गरी इजलासबाट हिँडिन् ।