मन्थन बिचारहरुको

आज हुँदैछ मनीषाको स्वयम्वर        २०६७ अषाढ ४ | Jun 18, 2010

Picture
  • भोलि कसिनेछ लगनगााठो
  • तीन हजारभन्दा बढी निम्तालू
  • बलिउडका हस्तीहरू पनि आउने
  • पूर्व राजादेखि प्रचण्डसम्मको उपस्थिति रहने अपेक्षा
  • सम्राटले अस्वीकार गरे दाइजो
  • नेपाली पोसाकमा सजिनेछन् दुलहादुलही
  • परम्परागत संस्कारअनुरूप बन्दैछ विवाह-मण्डप
  • चिना दुई पटक जुधाइयो
  • ३ सय जन्तीको लस्कर गोकर्ण रिसोर्ट पुग्ने
  • खरिददारी काठमाडौा र मुम्बईमा
  • सम्राट साधारण विवाह रुचाउाछन्
  • पञ्चैबाजाले गुञ्जनेछ विवाह-समारोह
  • दुई दिनदेखि सांस्कृतिक कार्यक्रमको रन्को
  • मनीषाले साप्ताहिकसाग भनिन्-
  • कोइराला परिवारमा साता दिनदेखि उत्सवको वातावरण
  • विश्वकप हेर्दै हनिमुन मनाउन चाहन्छन् सम्राट
  • मनीषाको हनिमुन प्राथमिकता मुस्ताङ

छ महिनाअघिसम्म काठमाडौं महाराजगन्जको चोकतिर साथीभाइसँग डुली हिँड्ने सामान्य युवक अचानक सेलिब्रेटी भएका छन् । हिजोसम्म उनको महत्त्व साथीभाइमा सीमित थियो, अहिले सबैको आँखा उनको  हाउभाउ, व्यवहार, बडी, ल्याङ्वेजमा मात्र होइन, खानपान र जीवनशैलीसम्म पुगेको छ । हिजोसम्म बुबाले उत्पादन गर्ने जुत्ता प्रवर्द्धन गर्न भारत र नेपालका विभिन्न सहर जाँदा उनलाई त्यति महत्त्व दिइँदै नथ्यो । अहिले तिनै युवाका कारण 'लेदर विङ्ग्स' ब्रान्डको नाम कण्ठस्थ हुनेहरूको संख्या बढेको छ । ती युवकले अध्ययन गरेको विषय भने वैकल्पिक ऊर्जा हो । उनी काठमाडौंमा फालिएका फोहोरबाट बिजुली  निकाल्ने ध्याउन्नमा छन् । यद्यपि उनले स्थानीय विकास मन्त्रालयले आह्वान गरेको वैकल्पिक ऊर्जाको ठेक्का उनको कम्पनी गोल्डरसले पाएन । काम गर्न खोज्दा पनि नपाएको गुनासो गर्दै हिँड्ने ती युवाको कुरा  सुनिदिने सञ्चारमाध्यम पनि फेला परेको थिएन ।

व्यक्ति तिनै, काम त्यही तर बलिउडकी चर्चित नायिका तथा नेपाली चेली मनीषा कोइरालासँग विवाह पक्का भएको खबरसँगै उनको चर्चा अकासिएको छ । अहिले उनको मोबाइलमा दैनिक हजारौं कल आउ ँछन् । उनका दुईवटा मोबाइल फोन सेकेन्ड-सेकेन्डमा बज्छन् । हिजोसम्म टेलिफोनमा आएका कलहरू सकेसम्म 'एबोइड' नगर्ने यी युवा उद्यमी अहिले हत्तपत्त बाहिरी फोन उठाउन छाडेका छन् । उनले  फेसबुकबाट आफ्नो डाटा हटाइसकेका छन् । 'फोन नउठाउनु मेरो बाध्यता हो ।' धेरै पत्रकारले लगातार पच्छ्याएपछि अप्ठयारो मान्दै सम्राटले साप्ताहिकसँग भने, 'अचानक म हाइलाइट भएँ, जबकि मैले त्यस्तो  विशेष काम गरेजस्तो लाग्दैन ।' आफूले विशेष काम गरेको नमाने पनि उनको अन्तरवार्ता भारतका प्रसिद्ध चलचित्र म्यागजिन एवं हिन्दी-अंग्रेजी भाषाका दैनिक पत्रिकाहरूमा प्रकाशित भएका छन् । उनले  पत्रकारहरूसँग कुरा गर्न नमानेपछि कुनै बेला मनीषासँग नजिक भएका मुम्बईका कैयौं पत्रकारले मनीषालाई फोन गरेर सम्राटबाट केही बोलीदिन आग्रह गर्दै आएका छन् । 'अचानक जीवन परिवर्तन भएको  महसुस हुन्छ ।' विवाहको मुडमा रहेका सम्राटले भने, 'विवाह सबै मानिसको सपना हो, म यो क्षणलाई पूर्ण रूपमा महसुस गर्न चाहन्छु ।' सम्राट केही समय यता सकेसम्म सञ्चारमाध्यममा आउन चाहिरहेका छै नन् ।

सम्राट नै किन ?

एक दशकयता मनीषाको परिवार उनको विवाहका लागि चिन्तित थियो । सौदागरबाट चलचित्र नगरी मुम्बईमा प्रवेश गरेकी मनीषाले जसै नाम र दाम कमाउँदै गइन्, उनले नेपाललाई माइती देशकारूपमा  सीमित गर्लिन् भन्ने धेरैको अनुमान थियो । सौदागारबाट केही समय सेलाएकी मनीषाको करियर बम्बै, अग्निपथ, दिल से, खामोसी जस्ता चलचित्रबाट यति माथि पुग्यो, जसको तुलना चर्चित अभिनेतृ माधुरी  दीक्षितसँग गर्न थालियो । विश्वको दोस्रो ठूलो सिने उद्योगमा यति माथि पुगेकी अभिनेत्रीसँग विवाह गर्ने आँटिला पुरुष नेपालमा छैनन् भन्ने धेरै नेपालीको मनमा थियो । यद्यपि परिवारका सदस्यहरूले भने  मनीषालाई नेपालमै विवाह गर्ने सल्लाह दिन्थे । परिवारले नेपाली केटासँग विवाह गर्ने सल्लाह दिँदा उनी कुनै पनि नेपाली केटाले अहिलेसम्म प्रपोज नै नगरेको बताउँथिन् । एक दशकमा मुम्बईमा धेरै कलाकार  एवं चलचित्रसँग सम्बन्धित व्यक्तिहरूले विवाहको प्रस्ताव राख्दा उनले त्यसलाई पन्छाउँदै आएकी थिइन्, तर जसै सम्राटले मनीषासँग विवाहको प्रस्ताव राखे, उनले मुम्बईमा जस्तो त्यसलाई समय खेर नफाली  स्वीकार गरिन् । आखिर त्यस्तो के पाइन् उनले सम्राटमा ? 'किनभने सम्राट मलाई केयरिङ, लभिङ र सफा दिल भएको मानिस लाग्यो,' मनीषाले साप्ताहिकसँगको छोटो भेटमा भनिन्, 'सम्राट इज माइ वर्ड ।'  आफूभन्दा सात वर्ष कान्छो व्यक्तिलाई जीवनसाथी चुन्न पाएकोमा पनि उनी खुसी देखिन्थिन् । 'एउटा हजबेन्डका रूपमा उसँग सबै कुरा छ, जो एक महिला चाहन्छे । सबैभन्दा ठूलो कुरा उसले मेरो परिवारका  सदस्यलाई साह्रै माया गर्छ ।' छ महिनाअघिको एउटा चिसो साँझमा सम्राटलाई पहिलो पटक देखेको सम्झना गर्दै मनीषाले भनिन्, 'म आफ्नो रोजाइप्रति पूर्ण सन्तुष्ट छु । उसमा विशेष कुरा छ ।' उनले आफ्नो  विवाह पूर्ण रूपमा प्रेमविवाह भएको कुरामा पनि जोड दिइन् । मनीषा र सम्राटलाई नजिकबाट बुझ्नेहरूका अनुसार दुवै जना नेपालीपन मन पराउँछन् । मनीषाको मुम्बई, बर्सोवास्थित बीच टावरको १४ औं  तल्लामा नेपालीपनले भरिएको फ्ल्याट छ । करिब ३ करोड भारतीय रुपैयाँ पर्ने उक्त फ्ल्याटको मूल ढोका उनको सिन्धुलीस्थित मूलघरको ढोका जस्तै छ । जसमा भोटे साँचो लगाइन्छ । फ्ल्याटलाई डोको, कसौ ंडीजस्ता नेपाली सामग्रीले सजाइएको छ । कोठामा पृथ्वीनारायण शाह र बुद्धको मूर्ति एवं बीपी कोइरालाको तस्बिरलाई विशेष रूपमा सजाइएको छ ।

जब मनीषाले सम्राट अमेरिकाबाट नेपालमा केही काम गर्न फर्किएको कुरा सुनिन्, त्यसैबेला उनीप्रति विशेष चासो राख्न थालेकी हुन् । जानकारहरूका अनुसार मनीषाले लिफ्ट दिएपछि मात्र सम्राटले प्रेम प्रस्ताव  राखेका हुन् । सम्राट पनि विवाहका लागि त्यस्ती युवती चाहन्थे, जसले नेपालीपन मन पराऊन् । लामो समय अमेरिका बसेर त्यहाँको संस्कृतिबाट वाक्क भएका सम्राटले कुरैकुरामा मनीषाको मुम्बईस्थित  फ्ल्याटका बारेमा सुने, त्यसपछि उनले पनि मनीषासँगै किन विवाह नगर्ने भन्ने सोच बनाए ।

कसरी हुँदैछ विवाह ?

जुन कारणले मनीषा र सम्राट एक-अर्कासँग नजिकिए, त्यसलाई मूर्तरूप दिन दुवैले पूर्ण रूपमा नेपाली शैलीमा विवाह गर्ने योजना बनाएका छन् । सम्राटले बेहुलाको पहिरनका रूपमा दौरा-सुरुवाल सिलाएका  छन् । टाउकोमा नेपाली टोपी र कम्मरमा सिरुपाते भिरेर बग्गीमा मनीषालाई लिन जाने योजना सम्राटको छ । उनी महाराजगन्जस्थित आफ्नो निवासबाट मनीषालाई लिन गोकर्णस्थित फरेस्ट रिसोर्ट पुग्नेछन् ।  जहाँ आकर्षक रातो साडीमा सजिएकी मनीषाले हातले बुनेको दुबोको माला लगाइदिने कार्यक्रम छ । विवाह कार्यक्रमअनुसार जन्तीको स्वागत कोइराला परिवारसहित बलिउडका प्रख्यात कलाकारहरू तब्बु, उर्मिला  मातोडकर, गोविन्दा तथा उनको परिवार, जेकी श्राफ र उनकी धर्मपत्नी एना सिंह, दक्षिणका चर्चित नायक नागार्जुना र उनकी श्रीमती अमला एवं साइद कपुर आदिले गर्नेछन् । पारिवारिक स्रोतका अनुसार  मुम्बईमा मनीषालाई सघाउने दर्जनौं व्यक्ति काठमाडौं उत्रन थालिसकेका छन् । मुम्बईबाट आएका केही सहयोगी कलाकार तथा अमेरिकामा बसोबास गर्ने बीपी कोइरालाका छोरी-ज्वाइँ चेतना र प्रवीण दीक्षित  गोकर्ण रिसोर्ट पुगिसकेका छन् । त्यसैगरी पाकिस्तानमा बसोबास गर्ने बीपीकी बहिनी तारा कोइरालाको परिवारका सदस्य पनि काठमाडौं उत्रिसकेका छन् । 

विवाहमा आएका सम्पूर्ण पाहुनालाई स्वागत गर्न २ सय जनाको कलाकार टोलीलाई प्रशिक्षण दिइएको छ, जसले रिसोर्टमा भएका पाहुनालाई दुई दिनसम्म परम्परागत नेपाली नृत्य एवं नाटिका देखाएर मनोरञ्जन  प्रदान गर्नेछन् । सहायक प्रशिक्षणको जिम्मा लिएका नटवर गुठीका सिद्धलाल श्रेष्ठले पाहुनाहरूलाई लाखे नृत्य देखाउने योजना रहेको बताए । यद्यपि विभिन्न प्रशिक्षकले भिन्न-भिन्न नृत्य देखाउने जिम्मा  लिएकाले सबै किसिमका नृत्य देखाइने कार्यक्रम छ । गोकर्ण रिसोर्टमा कार्यक्रमको पहिलो आकर्षण स्वयम्वर हुनेछ । आज असार ४ गते आयोजना हुने स्वयम्वर कार्यक्रम दिउँसो २ बजे सम्पन्न हुनेछ ।  पारिवारिक स्रोतका अनुसार मनीषाको विवाहमा सरिक हुन करिब ३ हजारलाई निम्तो पठाइएको छ, जसमा नेपालका सबैजसो प्रख्यात व्यक्ति परेका छन् । यी व्यक्तिलाई गोकर्ण जंगल रिसोर्ट, सोल्टी क्राउन  प्लाजा एवं एभरेस्ट होटलमा पार्टी दिने कार्यक्रम छ । यता सम्राट विवाहलाई सकेसम्म साधारण बनाउने सुरमा छन् । उनले कुनै पनि प्रकारको दाइजो नलिने एवं पार्टी पनि घरमै दिने योजना बनाएका छन् ।  सम्राटका तर्फबाट करिब ३ सय जना जन्ती जाने कार्यक्रम छ ।

विवाहको व्यस्तता एवं तनाव कम गर्न मनीषाले एक महिनाअघि मात्र विपश्यना ध्यान गरेकी थिइन् । बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्दा आफ्नो पुरानो सबै अहम एवं परिचय बिर्सेर पूर्ण रूपमा गृहिणी हुन लागेको निकटस्थहरूसँग बताएकी थिइन् । 

विवाहलाई सात जन्मको बन्धन मानेर त्यही अनुरूप व्यवस्था मिलाइएको पण्डित रामचन्द्र घिमिरेले बताए । विवाहको मण्डप तयार गर्नउपत्यकाबाहिरबाट साल, निगालो, केराको थम्बा, उखु, आँपको पात एवं  पिपलका हाँगा मगाइएको छ । मण्डपलाई चारैतर्फ ३ हात १ बित्ताका दरले फराकिलो बनाइएको छ । मण्डपलाई साल निगालो, केराको थम्बा, उखु, आँपका पात एवं पीपलका हाँगाले घेरिएको छ । यही मण्डपमा  अग्निलाई साक्षी राख्दै मनीषा र सम्राटले सात फेरा लगाउने कार्यक्रम छ । विवाहपछि केही दिन दुवै जना सम्राटकै घरमा बसे पनि उनीहरूले बुढानिलकण्ठमा एउटा आकर्षक घर भाँडामा लिएका छन् । सम्राटको घरबाट हनिमुन जाने तथा हनिमुनबाट फर्किएपछि नयाँ घरमा सर्ने उनीहरूको योजना छ । यद्यपि हनिमुनका विषयमा भने दुवैको मत बाझिएको बताइन्छ । सम्राट खेलप्रेमी भएका कारण दक्षिण अपि|mकामा हनिमुन बनाउने तथा विश्वकप फुटबल हेर्ने उनको योजना छ । यद्यपि मनीषा भने नेपालको  आकर्षक पर्यटकीय स्थल मुस्ताङको एउटा रिसोर्टमा हनिमुन मनाउने चाहना राख्छिन् । पारिवारिक स्रोतका दुबै मुम्बई हुँदै स्वीजरल्यान्ड जाने सम्भावना पनि प्रबल छ ।

विवाहमा धार्मिक कुरालाई निकै महत्त्व दिइएका कारण दुबैको दुई-दुई पटक चिना हेरिएको पण्डित घिमिरेले बताए । पण्डित घिमिरेका अनुसार मनीषाको ग्रह निकै राम्रो भएकाले यसपटक विवाहको साइत जुरेको हो । उनको बृहस्पति केन्द्रगत भएर बसेको छ । विवाहका लागि दुवैको २३ गुण मिलेको छ । ज्योतिषशास्त्रअनुसार कुनै पनि बर-बधूको २० गुण मिलेको खण्डमा त्यो  जोडी विवाहयोग्य मानिन्छ ।  

हुन् सम्राट 

मनीषाका बेहुला सम्राट नेपाली जुत्ताउद्यमी सुरेन्द्र दाहालका कान्छा छोरा हुन्ा् । बाँसबारी छाला जुत्ता कारखानामा लामो समय काम गरेपछि सुरेन्द्रले 'लेदरविङ्स' नामक कम्पनी खोलेका हुन् । उनको भारतको  कानपुर, नयाँ दिल्ली, आगरा र चेन्नइमा जुत्तापसल छन् । सम्राटले बुवाको जुत्ता व्यवसायमा केही समय सहयोग गरे पनि उनले आफ्नै व्यवसाय पनि चलाएका छन् । उनी उर्जा कम्पनी इकोफिन एसियाका  अध्यक्ष एवं फिनल्यान्डको इकोफिन नकिर्डका निर्देशक हुन्ा् । यी दुवै कम्पनी वैकल्पिक ऊर्जासम्बन्धी काम गर्छन् । यी कम्पनीको सहयोगबाटै सम्राटले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने प्रोजेक्ट तयार पारेका  हुन् । सम्राटका अनुसार महानगरपालिकाले अनुमति दिएको खण्डमा उनी काठमाडौंको फोहोरबाट बिजुली निकालेर सहर झिलिमिली पार्न सक्छन् । केही समयअघि स्थानीय विकास मन्त्रालयले काठमाडौंको फोहोर  व्यवथापनका लागि गरेको प्रतिस्पर्धात्मक कोटेसनमा उनको कम्पनी अस्वीकृत भएको थियो । यद्यपि सम्राट निराश छैनन् । 'म कहीं न कहीं यो प्रोजेक्ट सफल बनाएरै छाड्छु ।' सम्राटले भने, 'कुनै पनि योजना  बनाएपछि त्यसबाट पछि हट्ने मेरो बानी छैन ।' ऊर्जा प्रोजेक्टमा लाग्नुअघि उनी एनसीसी बैंकमा कार्यरत थिए । उनले अमेरिकाबाट व्यवस्थापनमा स्नातक गरेका हुन् । ७ वर्ष अमेरिका बस्दा उनले नियमित  अध्ययनबाहेक वैकल्पिक ऊर्जासम्बन्धी अध्ययन पनि गरेका थिए । उनले बूढानीलकण्ठ स्कुलबाट प्रवेशिका तथा दिल्लीबाट प्लस टु गरेका हुन् । उनकी एक दिदी शुभश्री अमेरिकामै विद्यावारिधी गर्दैछिन् भने दाजु  सुरजले पनि अमेरिकाबाटै व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपालको एउटा शैक्षिक संस्थामा कार्यरत छन् । सम्राटकी आमा गुणकेशरी महाराजगन्जस्थित राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छिन् । 'सम्राटको परिवार  एउटा शिक्षित एवं सुसंस्कृत परिवार हो ।' सम्राटका एक जना मित्रले साप्ताहिकसँग भने, 'परिवारका सबै सदस्यले आ-आफ्नो काम सम्हालेका छन् । यस्तो आदर्श परिवार मनीषाका लागि उपयुक्त छ । किनभने  मनीषा आफैं पनि अध्ययनशील कलाकार हुन् ।'

राजनैतिक कारण

कतिपय विश्लेषकहरू मनीषाले नेपालमै विवाह गर्नुको कारण उनको डुब्दो करियरलाई मानेका छन् । पछिल्लो समयमा आफ्ना चलचित्रले राम्रो व्यापार गर्न छाडेपछि मनीषा विवाह गरेर सेटल हुने प्रयत्नमा  थिइन् । मुम्बईमा उपयुक्त पुरुष फेला नपरेपछि उनले नेपालमै विवाह गर्ने निधो गरेकी  हुन् । यद्यपि पारिवारिक स्रोतका अनुसारउनी पहिलेदेखि नै नेपालमै घरबार बसाउने प्रयास गरिरहेकी थिइन् । उनको  भित्री आशय नेपालमा समाजसेवा वा राजनीतिमा सक्रिय हुनु हो । यसका लागि उनले ६ वर्षअघि नै नेपालमा विभिन्न प्रोजेक्ट सञ्चालन गरेर आफ्नो बाटो बनाउने निर्णय गरेकी थिइन् । ती कार्यक्रम प्रारम्भ  गर्नु केही अघि नै पूर्वराजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिइदिए । त्यति मात्र होइन, उनका बुबा प्रकाश कोइरालालाई आफ्नो मन्त्रिमण्डलको सदस्य पनि बनाइदिए । त्यसबेला मनीषालाई अचानक आफ्नो  बाटो खुला भएको महसुस भएको थियो । 'त्यसैले पनि उनले बुबालाई साथ दिइन् ।' पारिवारिक स्रोत भन्छ, 'राजासहितको प्रजातन्त्रकी पक्षधर मनीषा त्यसबेला तल परिन्, जब देशमा गणतन्त्र स्थापना भयो ।'  स्रोतका अनुसार मनीषाले त्यसैबेला उपयुक्त केटा पाए नेपालमै विवाह गर्ने चाहना पहिलो पटक आमा-बुवासँग प्रकट गरेकी थिइन् । त्यसको धरातल तयार गर्न उनले समाजसेवा र व्यवसाय एकसाथ प्रारम्भ गर्ने  योजना थियो । मनीषाको यो चाहनाभन्दा एक पाइला अघि बढाएर बुवा प्रकाश कोइराला उनलाई राजनीतिमा सक्रिय बनाउन चाहन्थे । अचानकको राजनीतिक परिवर्तनका कारण मनीषा पछि हटेपछि समाजसेवा  एवं व्यवसायको कुरा ओझेल परेको थियो । त्यसो भए विवाहपछि मनीषा फेरी पुरानै प्रोजेक्टमा फर्किन्छन् त ? स्रोत भन्छ, 'मनीषाले केही समय परिस्थितिलाई मूल्यांकन गरेर काम अघि बढाउन सक्छिन् ।' त्यसो  त कोइराला परिवारकी पछिल्लो पुस्ता मनीषा राजनीतिमा सक्रिय हुन् भन्ने चाहना उनकी फुपु सुजाता कोइरालाको पनि भएको बताइन्छ ।

जब मनीषाले सम्राट अमेरिकाबाट नेपालमा केही काम गर्न फर्किएको कुरा सुनिन्, त्यसैबेला उनीप्रति विशेष चासो राख्न थालेकी हुन् । जानकारहरूका अनुसार मनीषाले  लिफ्ट दिएपछि मात्र सम्राटले प्रेम प्रस्ताव  राखेका हुन् । सम्राट पनि विवाहका लागि त्यस्ती युवती चाहन्थे, जसले नेपालीपन मन पराऊन् । लामो समय अमेरिका बसेर त्यहाँको संस्कृतिबाट वाक्क भएका सम्राटले कुरैकुरामा मनीषाको मुम्बईस्थित  फ्ल्याटका बारेमा सुने, त्यसपछि उनले पनि मनीषासँगै किन विवाह नगर्ने भन्ने सोच बनाए । 

Picture