मन्थन बिचारहरुको

कतार» खाडी डायरी • दलालकै भाइ-छोरा पीडित

काठमाडौ, अषाढ १७ - एरपोर्टबाट सीधै तीनजना आएका छन्' भेटघाटको एकै छिनमा दूतावासमा कर्मचारी लालबाबु साहले भने । आइतबार नेपाली दूतावासमा पुग्दा हलभित्रको भर्‍याङनेर उनी व्यस्त थिए- पीडितहरूसँगको कुराकानीमा । उनको व्यस्ततालाई मैले अल्मलाउन खोजिनँ । मात्र हाय हेलो गर्दै फारम भर्ने पीडितहरूलाई सुन्दै थिएँ ।
'नयाँ हालखबर सबै उस्तै छ' नियमित दैनिक सुनाए लालबाबुले- 'देखिहाल्नुभयो, यी काम यस्तै हो समस्या उस्तै हो ।' हुन पनि दूतावासमा पीडितहरूको कुनै खाँचो हुँदैन । सायद नेपाली दूतावास भनेकै पीडितहरूका केन्द्र हुन्, त्यसमा पनि खाडी र मलेसियाका दूतावासलाई त भन्नै परेन ।
'अँ, उनीहरू भित्रै छन्' व्यस्तताका बीच लालबाबुले उनीहरूबारे संक्षिप्त बताए । आश्रयस्थलमा छिर्दा नयाँ पाँच/सात अनुहारहरू देखिए । अझै एक पीडितलाई बाहिरबाट बोलाएर ल्याए- दूतावासमा पहिल्यदेखि बस्दै आएका पीडित शम्भु यादवले । उनीहरूसँग चिनजान भयो । एयरपोर्टबाट सीधै आएका तीनजनामा एक पाका उमेरका थिए । दुईजना त स्कुले विद्यार्थीजस्तै लाग्यो । पढ्ने उमरमै किन काम गर्न आए भन्ने जिज्ञासा उब्जियो ।
उनीहरू वैदेशिक रोजगारका लागि भारतको मुम्बुईमा डेढ महिनादेखि डेढ वर्षसम्म बसेर बल्लबल्ल कतार आएका रहेछन् । कतार झरेपछि एक दिनरात बित्यो, एयरपोर्टमा कम्पनीको कुनै मान्छे लिन नआएपछि  त्यही एकजना नेपाली चालकले भेटेछन् । उनले दूतावासलाई खबर गरिदिए र दूतावासका चालक पुगेर आश्रयस्थलमा राखेका रहेछन् । 
समस्यामा पर्ने एक युवक अरू कुनै पेसामा संलग्न व्यक्तिका आफन्त नभएर वैदेशिक रोजगारमा मान्छे पठाउने एजेन्टकै छोरा रहेछन्- सतासीधाम-१, झापाका विवेक शेर्मा
-लिम्बू), २० । उनी ९ कक्षा पढ्दै थिए । साथीभाइ संगत लागेर पढ्न छाडेर घुमफिर गर्न थाले । अनि, बाबु एकराजले चन्द्रगढी लगेर नागरिकता र पासपोर्ट बनाइदिएर विदेश पठाएका रहेछन् ।
विदेशका लागि बाबुले चिनजानकै अर्को
एजेन्टलाई जिम्मा दिएर मुम्बई पठाए । मुम्बईबाट डेढ महिनामा कतार छिरे । 'चार/पाँच वर्ष भयो होला बाबाले विदेशमा मान्छे पठाउन थालेको तर अहिलेसम्म यस्तो भएको थाहा थिएन, आज आफै परियो,' विवेकले दुःख सुनाए- 'मैले त यस्तो होला भनेर सोचेको पनि थिइनँ ।'
उनीमात्र होइन मुम्बईबाट एउटै एजेन्टले सँगै पठाएका अन्य दुईको अवस्था पनि उस्तै छ । एकजना उनकै काका -बुबाका फुपूका छोरा) । तर उमेरमा उनीभन्दा कान्छा छन्- नवमीडाँडा-५ पाँचथरका युवराज नेखोप्प । उमेर साढे १९ । युवराज त झन्् पहिल्यै हन्डर खाएका रहेछन् । ८ पढ्दापढ्दै छोडेका युवराज डेड वर्षअघि मुम्बइबाटै कुवेत गएकोमा उमेर नपुगेका कारण थुनामा परेछन् ।
'त्यहाँ २० वर्ष उमेर चाहिने रहेछ, मेरो पासपोर्टमा १८ वर्ष थियो' युवराजले भने- 'उमेर पुगेन भनेर डेढ महिना थुनेर फर्काइदियो ।' अनि उनी मुम्बई फर्के । बीचमा एक महिना घर आएबाहेक अरू समय मुम्बईमा शंकरले भाडामा लिएको कोठामा बस्दै आएको बताए । उनलाई सुरुमा विवेकले बुवाले आफ्नै पाट्नरलाई विदेश पठाउने जिम्मा दिएका थिए । एजेन्टसँगको लामो बसाइले उनी कुरा गर्दा बढी सतर्क हुन्थे र फोटो लिदाँ अनुहार लुकाउन खोज्थे ।
उनीहरूसँगै आएका अर्का ३७ वषर्ीय राई दिलबहादुर राईको कथा बेग्लै छ । उनले मुम्बईमा चार महिना बिताए- उनै शंकरले विदेश पठाइदिने चक्करमा । पहिला साउदी अरेबियासमेत बसेका दिलबहादर चार महिनामा कतार उत्रिए- धेरै हन्डर खाँदै । 'मलाई तीनथरी एजेन्ट मिलेर ठगेका छन्' उनले बिलौना सुनाए- 'अहिले यहाँ आएर पनि यता न उताको भइयो ।' उनीसँग ९५ हजार रुपैयाँ मोरङ बेलबारीकी कविता राई र देवान लिम्बूले लिएछन् । नेपालबाट मुम्बईसम्म बेलबारीका विजय राईले पुर्‍याइदिए । मुम्बईबाट शंकरले उडाइदिए । 'बम्बईबाटै चार महिना बसेर बल्लबल्ल यहाँ आएर पनि यस्तो समस्या पर्‍यो,' उनले दुःख पोखे ।
मुम्बईबाट विवेक, युवराज र च्वाबुङ-७ का दिलबहादुर राई जुन २५ मा कतार आए । उनीहरू आएको भोलिपल्ट शनिबारदेखि दूतावासको आश्रयस्थलमा छन् । 'बाबालाई फोन गरें, मान्छे लिन आउँछन् भन्नुहुन्थ्यो, खोई अहिलेसम्म आएन,' आश्रयस्थलमै बसेका विवेकले भने- 'बाबालाई आफ्नै पाट्नरले धोका दिँदा दुःख पाइयो ।' उनले आफूहरू सबैलाई धनकुटा, बोधेका शंकर श्रेष्ठले मुम्बईबाट पठाएको बताउँछन् । एजेन्ट श्रेष्ठ र शेर्माको पहिल्यै चिनजान । उनीहरूसँगै काम गर्ने अर्का एकजना मधुमल्लाका लक्ष्मी श्रेष्ठ पनि रहेछन् ।
'शंकर र लक्ष्मी बाबाकै साथी हो, मैले दुवैलाई अंकल भन्छु तर के गर्नु यस्तो दुःख पाइयो,' विवेकले सुनाए । वास्तवमा मान्छेहरू विदेश कति सपना बोकेर उडेका हुन्छन् । कतिका सपना पुग्छन्, कतिका सपनैमात्र बन्छन् । उनीहरू अझै आस त मारेका  छैनन्- कम्पनीका मान्छे लिन आउँछन् भन्ने पनि छ तर कहिले भन्ने थाहा छैन ।
एउटा निर्माण कम्पनीको लेबर भिसा आएका उनीहरूलाई मौखिक साढे ६ सय रियाल तलब र ओटीसहित आठ सय रियाल हुने भनिएको छ । लिखित केही छैन । कतारमा आउने लेबरको न्यूनतम तलब
-ओटीबाहेक) ६ रियाल र खानाको २ सय
रियाल दिनुपर्ने नेपाल सरकारले तोकेको छ । तर उनीहरूलाई खाना दिने पनि भनिएको छैन । यिनीहरूलाई के के चाहिने हो केही थाहा छैन । झन्् दुई काका भतिजलाई त आफ्नैले पठाउने भएपछि केको चिन्ता भन्ने पनि लाग्यो ।
खासमा कसरी उनी मुम्बईबाट के, कसरी कतार आए जान्न मन लाग्यो । उनीहरूलाई सबै थाहा
रहेनछ । हाल झापाको दमकमा बस्ने विवेकका बाबा एकराजलाई फोन सम्पर्क गरें । उनले पहिलादेखि एजेन्टको काम गर्दै आएका रहेछन् । होटल पनि चलाए तर अहिले होटल छोडेर म्यानपावर कम्पनीको शाखा चलाएको छु भन्दै थिए- काठमाडौंको धोवीघाटस्थित बज्र ह्युमन रिसोर्सको दमकमा शाखा ।
'साथीको नाताले समस्या पनि पर्दैन, सस्तो पनि पर्छ भनेर बम्बई पठाएको हुँ,' एकराजले सुनाए । उनले छोरा र भाइका लागि आईसी ५० हजार बुझाएको बताए । अहिले उनलाई पैसाभन्दा पनि साथीको धोका, छोरा र भाइले दुःख पाएको
चिन्ता छाएको छ । भन्छन्- 'एजेन्टले एजेन्टलाई राम्रो गर्ला भनेर जिम्मा दिएर पठाएँको थिएँ, आज आफैंले धोका खाइयो ।'
                                                                  कान्तिपुरबाट


नेपाल-यूएई संयुक्त समिति गठन सम्झौता

दोहा, अषाढ १७ - नेपाल र खाडी राष्ट्रको संयुक्त अरब इमिरेट्स -यूएई) बीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै हरेक क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले संयुक्त समिति बनाउने निर्णय भएको छ ।
संयुक्त समिति गठनको लागि उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र यूएईका विदेश राज्य मन्त्री डा. अन्सार मोहम्मद गर्गासले सम्झौतापत्र -एमओयु) मा हस्ताक्षर गरेका छन् । चारदिने औपचारिक भ्रमणमा युएई रहेकी मन्त्री कोइराला र विदेश राज्यमन्त्री गर्गासबीच जुन २३ मा राजधानी अबुधाबीस्थित गर्गासकै कार्यकक्षमा हस्ताक्षर भएको थियो ।
कोइरालाले सम्झौताले दुवै देशबीचको सम्बन्ध अझै प्रगाढ  र हरेक क्षेत्रमा सहयोग उपलब्ध हुने बताएकी छन् । 'यो सम्झौता दुई देशको सम्बन्ध अझ सुदृढ बनाउन र द्वन्द्वपछिको नेपाललाई धेरै विकास गर्न धेरै फाइदाजनक छ,' टेलिफोन कुराकानीमा उनले कान्तिपुरलाई भनिन्- 'विदेश राज्यमन्त्रीसहित अन्य अधिकारीहरूसँगको भेटमा नेपालको विकास, गरिबी तथा बेरोजगारीका लागि सहयोग गर्न आग्रह गरें, उहाँले सहयोग गर्ने वचन दिनुभएको छ ।'
सम्झौता हस्ताक्षरको क्रममा यूएईका सरकारी अधिकारी तथा यूएईका लागि नेपाली राजदूत अर्जुनबहादुर थापा, परराष्ट्र सहसचिव धनञ्जय झा, उपसचिव अर्जुनराज पन्त सहभागी थिए । 'दुई देशको सम्बन्ध विस्तारका लागि यो सम्झौता महत्त्वपूर्ण उपलब्धि हो' राजदूत थापाले भने- 'यसले सहयोगका धेरै बाटाहरू खोलेको
छ ।' उनले अब छिट्टै दुई देशबीचको साझा समिति गठन हुने पनि जनाएका छन् ।
संयुक्त समितिमा दुवै देशमा परराष्ट्रमन्त्री र उनीहरूले तोकेको अधिकारी हुनेछन् । समितिको बैठक दुवै देशका सम्बन्धित देशका परराष्ट्रमन्त्रीको अध्यक्षतामा पालै पालो हुनेछ ।
साझा समिति मताहत दुवै देशका विभिन्न उपसमिति गठन हुने र ती समितिहरूले दुईपक्षीय सहयोगका क्षेत्रहरू पहिल्याएर संयन्त्रको बैठकमा राख्नेछन् ।
दूतावासले दुई देशबीचको साझा समिति निर्माण भएपछि द्विपक्षीय सम्बन्ध अझ बलियो र हरेक क्षेत्रमा सहयोग हुने जनाएको छ । समिति गठन भएपछि आर्थिक तथा व्यापारिक क्षेत्रको विस्तार, संयुक्त लगानी, शिक्षा, तालिम, सूचना, संस्कृति, खेलुकुद, वातावरण, न्यायिक क्षेत्रमा
सहयोग हुनेछ ।
खाडीका राष्ट्रहरूमध्ये यूएईमा पहिलोपटक साझा समिति बनाउने सम्झौतामा हस्ताक्षर भएको परराष्ट्रका अधिकारीहरूले
बताएका छन् ।
'खाडी राष्ट्रमै यो पहिलो उदाहरण हो, यसलाई कोसेढुङ्गाको रूपमा लिनुपर्छ,' उपसचिव पन्तले भने- 'नियमित भेटघाट र सम्पर्क गर्ने संयन्त्र नहुँदा पनि खाडीमा धेरै समस्या देखिएको छ, यसले समाधानमा महत्त्वपूर्ण भूमिका खेल्नेमा  विश्वस्त छौं ।'

                                                                      कान्तिपुरबाट