मन्थन बिचारहरुको

नम्रता, तिमी कहिले बोल्ने ?

Picture
 सरला गौतम - महिलाप्रतिको दृष्टिकोणमा आइरहेको सकारात्मक परिवर्तनको लाभ नम्रताले उठाउनुपर्छ। फेरि कुनै श्रीषाले समाचार छापिएको कारण मर्नु नपरोस् भन्नका लागि समयले नम्रताको भूमिका खोजेको छ। सरला गौतम को टिप्पणी 
तीन पटकसम्म फोनमा कुराकानी भयो नम्रतासँग यो बीचमा। हरेक पटक भद्र र शालीन पाराले प्रस्तुत हुँदै उनले भनिन्, “मलाई फुर्सद हुनासाथ तपाइँलाई फोन गर्छु।” तर अहिलेसम्म गरेकी छैनन्।

केही समयअघिसम्म शहरको चर्चाको विषय थियो, नम्रता भिडियो प्रकरण। यो सुखद् कुरा हो, उनले आत्महत्या गरिनन्, भर नभएको कानुनको उपचार खोजिनन्, र चुपचाप आफ्नो पीडाबाट विस्तारै बाहिर आउने र व्यावसायिक जीवन अगाडि बढाउने प्रयास गरिरहिन्। त्यसैले उनको बारेमा लेखिएको समाचारको सन्दर्भ मानवअधिकार, महिला अधिकार र पत्रकार आचारसंहिता केहीको पनि विषय बनेन।

नम्रताको भिडियोको समाचारले काठमाडौं शहर तातिरहेको बेला म बाजुरामा थिएँ। काठमाडौँ फर्केपछि समाचार खोजेर पढेँ― नेपाली सिनेमाकी चल्तिकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियो विवादमा फँसेकी छन्...। अश्लील भन्न खोजिएको भिडियो थियो― नायिका नम्रता श्रेष्ठ र किचमय चित्रकार (डिजे तान्त्रिक) को प्रेमालापको। पहिलो कुरा त, आपसमा प्रेम गर्ने दुई वयस्क व्यक्तिले सहमतिमा राखेको स्वाभाविक र श्लील सम्बन्धलाई अश्लील भन्नु आफैंमा त्रुटिपूर्ण छ। विवाहित किचमयसँग नम्रताको सम्बन्ध बहसको अर्को पाटो होला, तर पनि यो उनीहरूको निजी मामिला हो। निजी जीवनका कुनै क्षणको भिडियो बनाएर राख्नु पनि व्यक्तिहरूको अधिकारको विषय हो, यदि त्यो सार्वजनिक हितविरुद्ध प्रयोग भएको छैन भने।

अश्लील र भद्दा काम त्यसले गरेको छ, जसले त्यो भिडियो चोरेर सार्वजनिक गर्‍यो। अश्लील काम गर्नेलाई प्रोत्साहन गर्दै त्योभन्दा बढी अश्लील काम सार्वजनिक दायित्व बोकेको राष्ट्रिय अखबारले त्यसको समाचार र तस्बिर छापेर गर्‍यो। त्यसैले अश्लील भिडियो होइन, त्यसलाई चोर्ने र सार्वजनिक गर्नेहरू हुन्। ती व्यक्तिको गोपनीयताको हकको सम्मान र सुरक्षा नगर्ने मानवअधिकार र मानवताका विरोधी पनि हुन्।

यस्तै मानवताविरोधी कामले गर्दा केही वर्षअघि नायिका श्रीषा कार्कीले आत्महत्या गरिन्। श्रीषाले अनाहकमा ज्यान फालिन्, त्यसैले उनको बारेमा लेखिएको समाचार मानवअधिकार, महिला अधिकार र पत्रकार आचारसंहिताविरोधी भयो भनेर नारा-जुलुस भए। यद्यपि सिद्धान्त र मान्यता दुवै विषयमा एउटै हुनुपर्ने थियो, तर नम्रताका बारेमा महिलाअधिकार र मानवअधिकारकर्मी कसैले कतै नारा-जुलुस नगरेकाले के जनाउँछ भने या त हामीलाई व्यक्तिकोे निजी कुराको अपहरणको बानी परिसक्यो, या नम्रताले ज्यान फालिनन्; त्यसैले यो बहसको विषय बनेन।

नम्रताको निजी जीवनको हरणविरुद्ध कोही केही नबोल्नुले संवाददाता, सम्पादक, पाठक र अधिकारकर्मी सबै अर्काको पीडामा रमाउने प्रवृत्तिको सिकार भएका त हैनन्? के यो नम्रताले मात्र गुहार माग्नुपर्ने विषय थियो? हो, नम्रता पनि साहसिलो भएर अगाडि बढ्न सकिनन्। तर, हाम्रो जस्तो पितृसत्तात्मक समाजमा नम्रताले त्यतिबेला साहस देखाउन सक्थिन्, जब कानुन जान्ने वकिल, अधिकारकर्मी, राम्रो-नराम्रो जान्ने विश्लेषक उनको पक्षमा कुनै न कुनै तरिकाले अगाडि आउँथे। यो कामका लागि उनीहरूलाई नम्रताको स्वीकृति पनि आवश्यक थिएन।

महिला हिंसाविरुद्धको अभियानलाई बलियो पार्न नम्रताले अगाडि आउनुपर्छ भन्ने लागेर मैले उनलाई बारम्बार सम्पर्क गरेकी थिएँ। उनको मौनताले नै कति गहिरो मानसिक तनाव भोग्नु परेेको होला भन्ने बताउँछ। उनी अगाडि नआए पनि उनको भिडियो बाहिर ल्याउने व्यक्ति र त्यसबारे लेख्ने पत्रिकालाई नैतिक चुनौती दिनु सबै सचेत नागरिकको कर्तव्य हो। के नम्रताले श्रीषाको जस्तो अप्रिय निर्णय नलिएको वा अदालत नगुहारेकाले नै न्यायका लागि बोलेर नथाक्नेहरूका लागि यो बहसको विषय नबनेको हो? यद्यपि केही समयअघि नम्रताले अङ्ग्रेजी दैनिक रिपब्लिका मा आफ्ना कुरा राखिन्। उनको अन्तर्वार्ता पढ्दा सहजै लाग्छ, हाम्रो जस्तो परम्परागत समाजमा आफ्ना कुरा बाहिर ल्याउनमा कति गाह्रो पर्‍यो भन्ने। त्यस्तै बुझन सकिन्छ, आचारसंहिता ख्याल नगरिकन गरिएको गैरजिम्मेवार पत्रकारिताबाट उनलाई कतिसम्मको मानसिक यातना भोग्नु पर्‍यो भन्ने। यद्यपि यति कुरा गरेर पनि आफूमाथि भएको अन्यायको विरुद्धमा कानूनी लडाइँको बारेमा भने मौन नै बसिन्।

नम्रता प्रकरण महिला हिंसाको ठूलो उदाहरण हो। महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र नेपालले सन् २०१० लाई महिला हिंसाविरुद्ध वर्षको रूपमा मनाउने घोषणा गरेको छ। महिला हिंसाविरुद्ध बोल्नेहरू थरीथरीका अभियान चलाइरहेका छन्। तर महिलाको शरीर माथिको, यौनिकताको र अन्य अधिकारमा बहस गर्ने कसैका लागि पनि विषय बनेन नम्रताले सहेको मानसिक हिंसा। एउटी निर्दोष उदीयमान नायिकाले अनाहकमा भोग्नु परेको मानसिक यातनाविरुद्ध नेपाली समाजको यो मौनताले दण्डहीनतालाई बल पुर्‍याएको छ। अधिकारकर्मीहरूको मौनताले नेपाली महिला र मानवअधिकार आन्दोलन कति जुझ्ारु र स्वतस्फूर्त रहेछ भन्ने पनि छर्लङ्ग पारेको छ। नेपाली समाजको उन्नतिका लागि पत्रकारिता गर्नेहरूले श्रीषाको फोटो र नम्रताको भिडियोको समाचार छापेर समाजलाई कति उचाइमा पुर्‍याए, उनीहरूसँग जवाफ छ?

गोपनीयताको हक संविधान र कानूनले व्यक्तिगत अधिकारको रूपमा सुरक्षित गरेको कुरा हो। कुनै पनि पेशाको आड लिएर कानून र मानवताविरोधी काम गर्न पाइँदैन। अन्याय गर्ने र सहने दुवै दोषी हुन्छन्। स्वयम् नम्रताको मौनताले पनि कानून विरोधीलाई नै सघाएको छ। नेपाली समाज बदलिएको र महिलाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आइरहेको पनि छ। नम्रताले यसको लाभ उठाउनुपर्छ। फेरि कुनै श्रीषाले समाचार छापिएको कारण मर्नु नपरोस् भन्नका लागि समयले नम्रताको भूमिका खोजेको छ। नम्रता, भन तिमी कहिले बोल्ने?