मन्थन बिचारहरुको

सम्पादकको कलमवाट........

वैचारीक तरँगहरु मस्तिष्कमा उठ्दा छचल्किएर कापीका पानामा पोखिएका भावनाहरुको सँगम हो, मन्थन विचारको । जीवनको पथमा सँघर्ष गर्दै मृत्यूको मुखमा जाँदै गरेका पाइलाहरुमा नीडरताको उत्साह भरिदिने उमँग हो, मन्थन विचारको । जीवनमा घट्ने रसिला र नीरसिला घटनाहरुको साहित्यिक यथार्थ हो, मन्थन विचारको । प्रसवथित महिलाको पीडा हो, मन्थन, प्रसवित महिलाको उमँग हो, मन्थन । मन्थन एक धारा प्रवाह हो, जसले उजाड मनमा वृक्षारोपण गर्दछ, वृक्षकाण्डमा पुष्प उमार्दछ । मन्थन कोकील ध्वनि हो, सरिताको कलकल हो र साथै विकृति र विसँगतिको विरुद्धमा प्रबल मेघ गर्जन हो । मन्थन दुई विपरीत विचारको मीश्रीत विचार हो, मन्थन दुई विपरीत धु्रवको मिलन विन्दु हो । मन्थन आवाज हो दुखी गरीबको, मन्थन आर्तनाद हो शोशकको । मन्थन आदिम सभ्यताको पक्षधर हो भने आधुनिकताको पक्षपाती हो । मन्थन पानी हो, जसमा जो कोहिले जुनसुकै रँग मिसाएर आफूलाई चाहे झैँ रँग बनाउन सक्दछ । मन्थन उषाको कीरण हो, मन्थन चन्द्रमाको शीत हो । मन्थन प्रेमीकाको प्रतिक्षामा बसेको प्रेमीको उत्सुक क्षण हो, मन्थन प्रेम मिलापको आनन्द हो । मन्थन आँखाको सुखाश्रु हो, मन्थन मुस्कानको गुच्छा हो । मन्थन नवविवाहितको जीवन लक्ष्य हो, मन्थन नवविवाहिताको सहज लज्जा हो । मन्थन सम्पुर्ण भूभूर्वलोक साक्षि राखेर खाएको कसम हो जसले हजुरहरुलाई जन्म जन्मान्तर साथ दिने वाचा गर्दछ ।

मन्थन एक समूह हो, तपाँइ हामीको, साथ साथ पाइला चालेर लक्ष्यमा साथ साथै विजयध्वज प्रतिस्थापित गर्ने परम लक्ष्य हो, मन्थनको । उमँगित एक मुखबाट निस्केको शंखध्वनिले त दिग्दिगान्तर थर्थराईदिन सक्छ भने हामी सबैले एकसाथ निकालेको ध्वनिले कति ध्वनिहरु प्रतिध्वनित होलान् ? त्यसैले एउटा यस्तो समूह बनाऔँ मन्थनको माध्यमबाट जसले हरेकलाई विजयपथमा खुट्टा नकमाउन प्रेरित गरोस् । 

“मन्थन एक पानीको थोपा हो जसलाई हजुरको साथले समूद्र बनाइदिन सक्छ”